चितवन। भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित रेणु दाहालले आफ्नो संकल्प पूरा गर्ने प्रतिबद्धता जनाएकी छन्। पत्रकारहरुसँग कुरा गर्दै मेयर रेणुले आफूले भारतपुरवासीलाई निराश हुन नदिने बताएकी हुन्।
विगतका अधुरा काम पूरा गर्ने भन्दै दाहालले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छन् । उनले आफ्नो पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापन रहेको बताइन्।
दाहालले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने दाबी समेत गरेकी छन्। उनले भनिन्, ‘रेणु दाहाल हराउनकै लागि विपक्षीहरुले ठूला योजना बुने पनि भरतपुरमा असफल भएको छ । हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौं ।’
त्यसैगरी, उपमेयरमा नवनिर्वाचित नेपाली कांग्रेसका चित्रसेन अधिकारीले भरतपुर महानगरको चौतर्फी विकासको लागि आफूले सहयोगी भुमिका खेल्ने बताए।
दाहाल भारतपुर मेयरमा १२ हजार ४०० बढी मतान्तरले विजयी भएकी छन्। उनले ५२ हजार ३० मत प्राप्त गरेकी छन् भने उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरेका छन्।