सुर्खेत। जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ। ट्रयाक खुलेको पाँच वर्षपछि सिधा यातायात सेवा सञ्चालनमा आएको हो।
भेरी नदीको बिच बिचमा बेलिब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको हो। करपगाड र खदाङमा बेलिब्रिज बनेपछि यो सम्भव भएको हो। दुई ठाउँमा बेलिब्रिज बनेपछि मालबाहक तथा सवारी साधन त्रिपुराकोटसम्म पुगेका हुन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीय हर्षित छन्।
सडक पहिल्यै बने पनि गाडी ढिलो पुगेको स्थानीयले बताए। यो पटक जाजरकोट र रुकुम पश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलिब्रिज बनाइएको छ। यही बेलिब्रिजका कारण सवारी तथा मालबाहक साधन सोझै त्रिपुराकोटसम्म पुग्ने गरेका छन् ।
हिउँदमा सुक्ने यी खोलाले वर्षामा सवारीका साधन रोकिन्छन्। उपमखोला र रिजिगाडमा पुल बनाउनुपर्ने छ। डोल्पाको खदाङपछि आउने चुंगाड र छलगाडमा पनि पुल निर्माण भएपछि सवारीका साधन वर्षामा पनि चल्न सक्छन्।
त्रिपुराकोटमा पनि बेलिब्रिज निर्माण भइरहेको छ। त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रूपगाडमा पनि अर्को पुल बनाउनुपर्ने छ। यहाँ पनि बेलिब्रिज निर्माणको काम भइरहेको छ। यो पुल निर्माणपश्चात् डोल्पा सदरमुकाम पुग्न सजिलो हुनेछ।