काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकहरुको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ। विद्युत आपूर्ति सम्बन्धी गुनासो, सूचना तथा जानकारीहरु एकै स्थानबाट आदानप्रदान गर्ने उद्देश्यले प्राधिकरणले कल सेन्टर सञ्चालनमा ल्याएको हो।
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका ग्राहकहरुका लागि कल सेन्टर संचालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाभित्र विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा प्राधिकरणको हटलाइन नम्बर ११५० मा फोन सम्पर्क गरिसकेपछि अंक १ डायल गरेर कल सेन्टरबाट सेवा लिन सकिनेछ।
‘नो लाइट’मा फोन नै नउठेको गुनासो बढेपछि प्राधिकरणले कल सेन्टर संचालनमा ल्याएको हो। वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले कल सेन्टर भनिए पनि गुनासो व्यवस्थापनको काम गर्ने बताए।
उनका अनुसार ४ जनाका दरले तीन सिफ्टमै कर्मचारी हुनेछन्, जसले २४ सैं घण्टा कल सेन्टर संचालन गर्नेछन्। विद्युत आपूर्ति सम्बन्धी गुनासो भए टिपाउन सकिनेछ। उक्त आधारमा कल सेन्टरले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर जानकारी लिएर ग्राहकहरुलाई दिनेछ। के कति कारणले बत्ती गएको र कति बेला आउँछ भन्ने जानकारी दिनेछ।
रातको समयमा विद्युत आपूर्ति सम्बन्धी सेवा लिन सकिने र कार्यालय समयमा बिलिङमा आएको समस्या लगायत अन्य गुनासोहरु समेत सम्बोधन गर्ने योजना छ। कल सेन्टर प्राधिकरणको केन्द्रीय कार्यालय परिसरभित्रै राखिएको छ।
