काठमाडौं। ७३ मेगावाटको मिडिल तमोर जलविद्युत आयोजनाको काम ६३ प्रतिशत पूरा भएको छ। गैरआवासीय नेपालीको लगानी रहेको सानिमा ग्रुपको मिडिल तमोरको निर्माण कार्य अबको एक वर्षमा पूरा हुने भएको हो।
यो आयोजनाबाट २०८० साउनदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थाल्ने योजना छ। यो प्रगति प्रतिवेदन सन् २०२२ को फेब्रुअरीसम्मको हो । ग्रुपले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडमार्फत आयोजना निर्माण थालेको हो ।
आयोजना आन्तरिक खपतका लागि आयोजना निर्माण सुरु भएको हो। आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता (पीपीए) भइसकेको छ। नदीको बहावमा आधारित (रन अफ दि रिभर) आयोजना बनाउन १३ अर्ब ३३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाको डिजाइन परिवर्तन र साइटका कारण लागत बढेको हो ।
यसअघि आयोजना बनाउन १२ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । जसमध्ये २५ प्रतिशत स्वपुँजी (इक्विटी) र बाँकी ९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ बैंकबाट ऋण लिएको छ। आयोजनाको बढेको लगात ४८ करोड ८० लाख रुपैयाँ ऋण स्वीकृतिको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, नेपाल क्रेडिट एन्ड कर्मस (एनसीसी) बैंक, लक्ष्मी बैंक र नेपाल एसबीआई बैंकको लगानी छ ।