मोरङ। विराटनगर महानगरपालिकालाई स्वच्छ, सफा र पूर्वाधारयुक्त बनाउन जनप्रतिनिधिसमक्ष आग्रह गरिएको छ। विराटनगरका उद्योगीहरुले नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरुलाई स्वागत गर्दै
विराटनगरलालाई स्वच्छ, सफा र पूर्वाधारयुक्त बनाउन आग्रह गरेका हुन्।
उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा सहभागी उद्योगीहरूले विराटनगरलाई फोहोरी सहरबाट मुक्त गराउँदै ट्राफिक व्यवस्थापन, फुटपाथको प्रयोग बढाउँदै हरियालीयुक्त नगर बनाउन जनप्रतिनिधिहरुसँग आग्रह गरेका थिए।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विकासलाई ध्यानमा राखी विज्ञहरूको सुझावमा आगामी कार्ययोजना तय गर्न अनुरोध गरे। उनले औद्योगिक नगरीका रूपमा परिचित विराटनगरमा स्थायी सुविधायुक्त औद्योगिक प्रदर्शनीस्थल निर्माणको आवश्यकतालाई औल्याउँदै संघ र प्रदेश सरकारको सहकार्यमा परियोजना अगाडि बढाउन अनुरोध गरे।
स्वागत कार्यक्रममा सहभागी विराटनगर महानगरका नवनिर्वाचित मेयर नागेश कोइरालाले नेपालकै पहिलो औद्योगिक नगरका रूपमा परिचत विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।