सुर्खेत। हुम्ला जान र आउन समस्या हुँदै आएको छ। पहुँचको भरमा प्लेन टिकट वितरण हुँदा हुम्ला जान र आउन समस्या भएको हो।
हवाइ मार्ग मार्फत जाँदा र आउँदा भारी खर्च हुने भएपनि सोही टिकट पाउन पनि शक्ति केन्द्र धाउनु परेको छ। निजी जहाज मात्र सञ्चालन रहेको हुम्लामा तारा र समिट एयरले मात्र उडान भरिरहेका छन्।
सीमित सिटका कारण हवाइ यात्रा गर्न भारी पावर लगाउनुपर्ने बाध्यता भएको बताईएको छ। हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो। सुर्खेतबाट हुम्ला जानका लागि १० हजार, हुम्लाबाट सुर्खेत आउँदा ७ हजार रकम तिर्नुपरेको यात्रुहरु बताउँछन्।
नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिकाका स्थानीयले बताए।
निजी एयरलाइन्स कम्पनीले नियमित उडान नगर्दा हुम्ली नागरिकले समस्या भोग्दै आएका छन्। सिमीकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ।