काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान भएको अर्को दिन सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा चलाएको आरोप लगाएका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै ओलीले भोट हालेका जनतालाई भोलिपल्ट नै मूल्यवृद्धिको डण्डा चलाएको बताएका हुन्।
उनले एक हप्तामा दुईपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको बताउँदै समायोजन गर्ने नीति कहाँ गएको भन्ने प्रश्न गरे ।
ओलीले सरकारले ल्याएको नीति, कार्यक्रम सुनेपछि आफू अलमलिएको समेत बताएका छन्।
उनले भने, “यस नीति, कार्यक्रमलाई यस पाटोबाट हेर्दा कठै भन्न सकिन्छ । कठै, म निकै उत्साहपूर्वक पर्खिरहेको थिएँ । उत्साही पनि थिएँ । सम्माननीय राष्ट्रपतिबाट प्रस्तुत भएपछि सुनेँ । म अलमलिएँ । घरमा गएपछि फेरि दोहोर्याएर पढेँ।”
एमालेले कार्यक्रम ल्याउँदा ‘देश सक्ने भयो’ भनेर तर्सिएको भन्दै उनले अहिले आकाशबाट जूनतारा नै खसाउँछ होला भन्ने लागेको भनी कटाक्ष समेत गरे । तर, एमालेका कार्यक्रमहरू दोहोर्याइएको पनि बताए ।