ओखलढुंगा । ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे निर्माण भएको एक वर्ष नपुग्दै भत्किएको छ । सदरमुकामदेखि रुम्जाटार जोड्ने मुख्य सडकको कालोपत्रे भत्किएपछि सर्वसाधरणले सास्ती भोग्नु परेको हो ।
तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूकम्प आपतकालिन सहायता आयोजना अन्तर्रगत कालोपत्रे भएको यो सडक सदरमुकामबाट रुम्जाटार एयरपोर्ट सम्म झन्डै ११ किलोमिटर सडक अहिले लेदोसहितको माटोले भरिएको छ । कालोपत्रे भत्किएर ठाउँठाउँमा ठुल्ठुला पोखरी बनेका छन् ।
सडक कालोपत्रे गर्दै सम्बन्धित निकायले ध्यान नदिँदा सडकको अवस्था यस्तो भएको स्थानीयको भनाइ छ । कालोपत्रे गरिएको सडकको अवस्था अहिले भर्खरै खनिएको कच्ची सडकको भन्दा खराब छ । पटक पटक म्याद थपेर बल्ल तल्ल गरिएको कालोपत्रे पनि गुणस्तरहीन भएपछि स्थानीयबासी हैरान छन् ।