कास्की । मध्यपहाडी राजमार्गको कास्की पश्चिम खण्डको काम अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको हो ।
निर्माण कार्य हालसम्म ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने बताइएको छ ।
फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट ’कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ । कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम जारी छ ।
यो सडक निर्माणका लागि विसं २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी विसं २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । सुरुआतमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको थियो ।