काठमाडौं। कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा ५ जना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरुले निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराइएको, वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी भ्रष्टाचार गरेको बताइएको छ।
आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, नगरपालिकाका तत्कालीन अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, तत्कालीन इञ्जिनीयर पूर्ण कुँवर, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी कामी शेर्पा विरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले विष्ट विरुद्ध सात लाख ६७ हजार ९८८ बराबरको बिगो दाबी गरेको छ।
त्यसैगरी जोशी विरुद्ध रु २४ लाख ५१ हजार ५२६, तत्कालीन इञ्जिनीयर कुँवर विरुद्ध रु ३२ लाख १९ हजार ५१४, ल्याब टेक्निसियन धनबहादुर विष्ट विरुद्ध रु २९ लाख २८ हजार १६८ र निर्माण व्यवसायी कामी शेर्पा विरुद्ध रु २९ लाख २८ हजार २७४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।