काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा जनस्वास्थ्यका विषयलाई समावेश गर्न नसकिएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘कुनै नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि घर जग्गा नै घितो राखेर स्वास्थ्य उपचार गराउन जाँदा न घर नै रहन्छ न स्वास्थ्य नै,’ उनले प्रश्न गर्दै भने, ‘खै नीति तथा कार्यक्रममा यस कुराको समाधान खोजिएको ?’
साथै उनले नीति तथा कार्यक्रमले कृषकका समस्यालाई समेत छुन नसकेको बताए। वर्षाको समयमा कृषकलाई आवश्यक पर्ने रासायनिक मलको अभावलाई परिपूर्ति गर्न नीति तथा कार्यक्रमले पहल नगरेको भन्दै उनले आपत्ति प्रकट गरे।