खोटाङ । जिल्लाको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत पर्यटन आकर्षण बढाउन सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको हो ।
गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदानमा २४ लाख २९ हजार ७०६को लागतमा पार्क निर्माण गरिएको हो । विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि त्यसै ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताए ।
ऐतिहासिकस्थलको रुपमा रहेको लोहकिलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवन दिन बीचमा राखिएको ढुङ्गाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरीसहितको पार्क बनाइएको बताइएको छ ।
ऐतिहासिक तथा व्यापारिक केन्द्र सिम्पानी बजारको सौन्दर्य बढाउँदै पर्यटकलाई आकर्षण गराउने र घुमफिर गर्नाका लागि पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
पार्क निर्माणका क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित रु १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको रु सात लाख ५० हजार खर्च भएको बताइएको छ ।