तनहुँ । तनहुँ जलविद्युत आयोजनाको काम दशैंको समयमा पनि धमाधम भइरहेको छ । सुरुङ निर्माण र प्रशारण लाईनको काममा कामदार तथा कर्मचारीहरु खटिरहेको आयोजनाले जनाएको हो ।
आयोजनाको प्याकेज २ अन्तर्गत चिनियाँ सिनो हाईड्रो कम्पनीले गरेको सुरुङमार्ग निर्माण कामका लागि १६० जना नेपाली र ५५ जना चिनियाँ प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ ।
यसैगरी प्रशारण लाईन निर्माणको लागि कर्मचारी कामदार ५० गरी ७५ जना खटिरहेका छन् । ठेकेदार नियुक्ति तथा रद्द तथा नयाँ नियुक्तिमा भएको ढिलाई लगायतले सुस्त भएको आयोजनाको काम लकडाउनकै अवधिमा समेत नरोकी धमाधम गरिएको थियो । निषेधआज्ञाको समयमा पनि काम प्रभावित नहोस् भन्ने उद्धेश्यले भौतिक दुरी, सेनीटाईजर, मास्कको प्रयोग जस्ता सुरक्षाका मापदण्ड पूरा गर्ने, कामपछि बाहिर आवत जावत नगर्ने जस्ता नियम पालना गर्ने गरी काम गरिएको थियो ।
५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधीन सो जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ ।