काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएकी छन्।
काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न मन्त्रालय पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उनले यस्तो बताएकी हुन् ।
उनले काठमाडौंको फोहोर व्यवस्थापन अहिलेको ठूलो चुनौति रहेको भन्दै फोहोर व्यवस्थापनको लागि नयाँ टेक्नोलोजीको निर्माण गरेर अघि बढ्न आवश्यक रहेको बताइन्। मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
मन्त्री झाँक्रीले भनिन्, ‘फोहोर मैला ठूलो समस्या छ । हामी पहिला टेक्नोलोजी फाइनल गर्छौं । त्यसपछि इन्भेष्टमेण्ट मोडल, कति भोलुमको इन्भेष्टमेण्ट चाहियो ? पोष्ट क्लोजरको इस्यू ठूलो कुरा हो । अहिले हामी पोष्ट क्लोजरको इस्यूमा काम गर्छौं । बञ्चरे डाँडा वा सिस्डोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठूलो कुरा हो । हामीले त्यति ठूलो गल्ती गरेका छौँ । त्यसको पेव्याक आज राज्यले गरेको छ । फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ ।’
भेटमा बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो । सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् । जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ ।