काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले खपत गरेर बढी भएको बिजुली भारत निकासी गर्न थालेको छ। शनिबार मध्यरातदेखि कालीगण्डी ‘ए’ को १४० मेगावाट बिजुली भारत निर्यात भएको हो।
प्रतियुनिट रु १९ मा बिजुली भारत पठाइएको छ। त्यसका अलावा देशभित्रै पनि बढी बिजुली खपत गर्ने उद्योगलाई एकपछि अर्को गर्दै बिजुली उपलब्ध गराउन थालिएको छ। सोही क्रममा आज मात्रै नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको अम्बे स्टिललाई १७.५ मेगावाट बिजुली उपलब्ध गराएको छ। यसअघि सो उद्योगले आठ मेगाबाट बिजुली लिँदै आएको थियो।
कोहलपुर वितरण केन्द्रका अनुसार उद्योगले कूल ३५ मेगावाट बिजुली माग गरेकामा हालसम्म २५.५ मेगाबाट बिजुली उपलब्ध भएको छ। देशभित्रै गुणस्तरीय छड तथा डण्डी उत्पादन गर्ने लक्ष्यका साथ अम्बे स्टिलले बाँकेमा कारखाना स्थापना गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समय पहिले उद्योग परिसरको स्थलगत निरीक्षण गर्दै उद्योगलाई मागअनुसार बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। तुलनात्मक रुपमा प्राधिकरणले पश्चिम नेपालमा स्थापना हुने उद्योगलाई सहज रुपमा बिजुली उपलब्ध गराउन प्रयास गरे पनि भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनका दुई टावर निर्माणमा भएको अवरोधका कारण सकेको छैन।