हुम्म्ला। हुम्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा नियमित नहुँदा निर्माण सामग्री ढुवानी ठप्प भएको छ। निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट उडान नभर्दा सिजनको समयमा ठेकेदार कम्पनीलाई काम गर्न थप समस्या बनाएको हो।
सिमकोटमा निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी नभएपछि तत्काल समस्या समाधानका लागि पहल गरिदिन सिमकोट गाउँपालिकालाई हुम्ला निर्माण व्यवसाय सङ्घले आग्रहसमेत गरेको छ। एक मात्र हवाई मार्ग भएकाले र चार महिनादेखि जहाज नचलेकाले निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी हुन नसकेको हो।
असार मसान्त नजिकै आउन लाग्दा निर्माण सम्पन्न हुन लागेका योजना समस्यामा परेको हुम्ला निर्माण व्यवसायी सङ्घले जनाएको छ। हुम्ला निर्माण व्यवसायी सङ्घले जिल्लाभित्र सञ्चालन भएका निर्माण कार्य निर्माण व्यवसायीको काबुभन्दा बाहिर भएकाले समयमै सम्पन्न नहुने देखिएको भन्दै आयोजनाका समस्या बुझी सम्बन्धित निकायमा पहल गरिदिन गाउँपालिकालाई आग्रह गरेको छ।
नेपालगञ्ज र सुर्खेतमा रोकिएका निर्माण सामग्री जहाजबाट सिमकोटमा भित्र्याउन कोसिस गरे पनि सबै निजी कम्पनीका जहाज पूर्वमा उडान भरेपछि समस्या भएको हो। नेपालगञ्ज र सुर्खेतबाट आयात गर्नुपर्ने निर्माणका सामग्री ल्याउन नसक्दा अधिकांश योजनाका काम प्रभावित भएका छन। सहरीय क्षेत्रमा पाउने सिमेन्ट, छड, सिँचाइका पाइपलगायत सामग्रीहरु ढुवानी हुन नसकेपछि अब छ महिनापछि धकेलिने छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा हुम्लामा महँगो भाडा तिरेर जहाजमार्फत निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ओसार्नुपर्ने बाध्यता छ।