काठमाडौं। भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्राप्त भएको छ। उक्त प्रमाणपत्र भक्तपुर नगरपालिकाले २०७९ जेठ २३ गते प्राप्त गरेको हो।
मिति २०७८ फागुन १ गतेदेखि लागू हुने गरी ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले १ वर्षको लागि १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्रदान गरेको हो।
सोही क्रममा भक्तपुर नगरपालिकाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले आफ्नै १०० शैय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको हुँदा भक्तपुर नपाले २५ शैय्याको ख्वप अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न लामो समयदेखि प्रयासरत रहेको र हालै ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त पाएको बताएको छ।
१०० शैय्याको क्षमतामा ख्वप अस्पताल सञ्चालन भएसँगै अस्पतालको सेवा तथा सुविधाहरुलाई स्तरीय बनाइँदै लगिने बताईएको छ। ख्वप अस्पतालले हाल दैनिक ६०० भन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएकोमा जनताले थप सेवाको आशा गरेका छन् ।