मकवानपुर । भीमफेदीमा रहेको ऐतिहासिक सम्पदा हात्तीसारको संरक्षणसहित पर्यटकीय गन्तव्य बनाइने भएको छ । बागमती प्रदेश सरकारले चितवन राष्ट्रिय निकुञ्जको अधिनमा रहेको हात्तीसारलाई आफ्नो मातहत ल्याई संग्रहालयको रूपमा संरक्षण गर्ने भएको हो ।
संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको हात्तीसारको प्रवेशद्वारबाटै संरक्षणको काम थालिएको छ।डिभिजन वन कार्यालयमार्फत ९७ लाख रुपैयाँ खर्चेर गत आर्थिक वर्षमा पर्खाल निर्माण, तत्कालीन बेलायतकी महारानी एलिजावेथ द्धितीय र तत्कालीन राजा महेन्द्रसहित जंगबहादुर राणाले शिकारका लागि प्रयोग गरेका हौदा संरक्षण गरिएको छ । परिसरमा बगैंचा बनाइएको छ ।
३२ रोपनी जग्गामा फैलिएको हात्तीसार प्रवेशसँगै आगन्तुकले फोटो खिच्न मिल्नेसहित २ वटा हात्तीको मूर्ति बनाउने र ति हात्तीमाथि महारानी एलिजावेथ द्धितिय र जंगबहादुर राणाको शालिक निर्माण गर्ने योजना छ । यसका लागि चालु आवमा प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।