सर्लाही। नेपाल विद्युत् प्राधिकरणले करिब ४६ करोड ३६ लाखको लागतमा नवलपुरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न निर्माण गरिएको सब–स्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लालबन्दी नगरपालिका–१ मा अवस्थित नवलपुरमा १३२/३३ केभि प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण गरिएको हो।
आर्थिक वर्ष २०७५/७६ देखि यसको निर्माण सुरु भएको थियो। लकडाउनका कारण समयमै निर्माण सम्पन्न गर्न नसकिए पनि चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको र अबको एक महिनामा निर्माण सम्पन्न हुने कुरा सबस्टेसनका प्रमुखले जानकारी गराएका छन्। जिल्लामा रहेका तीन सबस्टेसन ३३/११ केभिका मात्र रहेका कारण सर्लाहीमा पटकपटक विद्युत अवरुद्ध हुँदै आएको हुनाले यो सबस्टेसन बनेपछि त्यो समस्या समाधान हुने प्राधिकरणको विश्वास रहेको छ।
सबस्टेसन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सबस्टेसनमा विद्युत् सेवा प्रवाह गरिने योजना रहेको छ। आव २०७८/७९ भित्र निर्माण सम्पन्न गर्ने गरी पावाटेक वाइवा ९जेभी० निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो। जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्याउनका लागि सबस्टेसन निर्माणको काम अघि बढाइएको साथै अब छिट्टै काम सम्पन्न गर्ने गरी काम भइरहेको छ।
हाल जिल्लामा रहेका तीनवटा सबस्टेसनले धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेसनबाट विद्युत् ल्याउने गरेका छन्। अब नवलपुरको सबस्टेसन निर्माण सम्पन्न भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सबस्टेसनबाट सेवा सञ्चालन हुनेछ।
नवलपुरमा रहेको सबस्टेसनमा १३२/३३ को ६३ एमभिए र ३३/११ को १६ एमभिएका गरी दुईवटा ट्रान्सफर्मरबाट जिल्लाको विद्युत् आपूर्ति परिपूर्ति हुने निर्माण कम्पनीले जनाएको छ। त्यस्तै जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेसन निर्माणको काम भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले जानकारी दिएको छ।