काठमाडौं। बन्दिपुरमा ९ वटा घरसहितको आवास परियोजना निर्माण हुने भएको छ। नेपाली घर प्रालि नामक डेभलपरले बन्दिपुर हिल्स रेसिडेन्स हाउजिङ परियोजना निर्माण थालेको हो।
बन्दिपुरको मुख्य बजारबाट २ सय ५० मिटर दक्षिणमा कुल सात रोपनीमा परियोजना निर्माण हुन लागेको छ। कम्पनीका अध्यक्ष आशुतोष प्रधानले बताए। सातमध्ये पाँच रोपनीमा साढे दुई तलाका घरहरु बन्ने र बाँकी दुई रोपनीमा खुला क्षेत्र, चिल्ड्रेन पार्क, कन्फ्रेन्स हललगायतका पूर्वाधार निर्माण हुने जानकारी उनले दिए।
चार आनामा बन्ने दुईवटा सानो घर २६ सय वर्गफिटको हुनेछ भने बाँकी सातवटा घर ३२ सय वर्गफिटको बन्ने बताइएको छ।
चार आनामा २६ सय वर्गफिटको घरको मूल्य कम्पनीले एक करोड ३० लाख रुपैयाँ, पाँच आनामा नै बन्ने २६ सय वर्गफिटको घरको एक करोड ४० लाख रुपैयाँ र साढे १० आनामा बन्ने ३२ सय वर्गफिट घरको एक करोड ८५ लाख रुपैयाँ पर्ने बताइएको छ। पर्यटकीय क्षेत्र भएकाले परियोजनामा बनेका घरहरुलाई व्यापारिक प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।