काठमाडौं। दुई वर्षपछि चीनको छेङ्दु र काठमाडौं दुईतर्फी उडान शुरु हुने भएको छ। चीनको ध्वजावाहक वायुसेवा कम्पनी एयर चाइनाले दुई वर्षपछि नेपालमा पुनः आफ्नो व्यवसायिक उडान सुरु गर्ने भएको हो।
कम्पनीले साताको एक दिन छेङ्दु–काठमाडौं दुईतर्फी उडान गर्ने गरी अनुमति पाएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। उनका अनुसार एयर चाइनाले हाललाई हरेक आइतबार यो रुटमा उडान गर्नेछ।
सोमबार नेपालस्थित चिनियाँ दुतावासले छेङ्दु–काठमाडौं रुटमा पुनः व्यवसायिक उडान गर्ने सूचना जारी गरेको हो।
एयर चाइनाले ११ जुनदेखि आगामी अक्टोबरसम्म लागु हुने गरी स्लट पाएको छ। अहिले कम्पनीले साताको एउटा उडान गर्ने बताइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार आइतबारबाटै एयर चाइनाले उडान थालेको हो।
कोभिडअगाडि यो वायुसेवा कम्पनीले साताको सातै दिन दुईतर्फी नियमित व्यवसायिक उडान गर्दै आएको थियो। कोभिडयता भने यसले नेपालतर्फ चार्टर र कार्गो उडान मात्रै गर्दै आएको छ।