संखुवासभा। गत शनिबार कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतारा अरुण तेस्रोको ड्याम साइट फ्याक्सिन्दा क्याम्प नजिकै मृत अवस्थामा फेला परे।
संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर अमरबहादुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। शनिबार मृत फेला परेका अमरबहादुरको शव आफन्तले बुझ्न नमानेपछि चार दिनदेखि जिल्ला अस्पतालमै छ।
अरुण तेस्रोमा कार्यरत अमरबहादुरको रहस्यमयी मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। श्रीमान्को रहस्यमय तरिकाले मृत्यु भएको भन्दै कैलालीबाट श्रीमती संखुवासभा आइपुगेकी छन्। शनिबार दिउँसो मृत फेला परेका अमरको शव प्रहरीले जिल्ला अस्पतालमा ल्याएको थियो। श्रीमान्को मृत्यु रहस्यमय भएको मृतककी श्रीमती कमला महताराले बताइन्। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरी जानकारी नै नदिई शव उठाएको श्रीमती कमलाको भनाइ छ। अमरबहादुर गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्ने संखुवासभा आएका थिए। अरुण तेस्रोले क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने पीडितका आफन्तले बताए। घटनाका विषयमा कम्पनी जिम्मेवार नभएको उनीहरूको आरोप छ।
न्याय माग्दै मृतककी श्रीमती सहित आफन्तहरू जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा घटनाको छानबिन गर्न लिखित माग समेत गरेका छन्। फोनमार्फत शव बुझेर लैजान पटक पटक दबाब दिने गरेको उनीहरूको भनाइ छ। घरैबाट कामदारको रूपमा निर्माण कम्पनीले ल्याएको उनकी श्रीमतीले बताइन्।
जबरजस्ती तरिकाले गाडी भाडासमेत लगाएर ठेकेदार कम्पनीका बालेन्द्र शाही नामका व्यक्तिले ल्याएको उनको दावी छ। मृतक परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास गरिरहेको बताईएको छ।