काठमाडौं। नालिञ्चोकमा निर्माण गर्न लागिएको स्थायी हेलिप्याडका लागि ५ वटा कम्पनीले आवेदन दिएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्थानान्तरण गरेर नागरिक उड्डयन प्राधिकरणले नलिञ्चोकमा बनाउन लागेको हेलिप्याड निर्माणका लागि पाँचवटा कम्पनीले आवेदन दिएका हुन्।
५ कम्पनीमध्येबाट अबको एक महिनाभित्रै उपयुक्त कम्पनी छनोट तथा ठेक्का हस्तान्तरण गरेर निर्माण कार्य अगाडि बढाउने योजना रहेको प्राधिकरणले जनाएको छ।
ओम बुद्ध शिव खिम्ती जेभी, उमा एण्ड को–काली जेभी, कालिका आरआर क्रिसा जेभी, समानान्तर निर्माण सेवा, कान्छाराम आरए–जेभी लगायतका पाँच कम्पनीले हेलिप्याड निर्माणका लागि आवेदन दिएको प्राधिकरणले जनाएको छ।
क्यान ले रोटर विङ्स (हेलिकोप्टर) उडान–अवतरण सहज बनाउनका लागि भक्तपुरको नलिन्चोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न हेलिप्याड बनाउन लागेको हो। यो हेलिप्याडमा कम्तिमा २७ वटा हेलिकोप्टर स्थायी रुपमा पार्किङ गर्न सक्ने क्षमताको हुने जनाइएको छ।
करिब ३० करोड रुपैयाँ लागत अनुमान रहेको हेलिप्याडमा सुरुआती चरणमा १५ करोड रुपैयाँ खर्च गरिनेछ भने भवन संरचनाका लागि कम्तिमा थप १५ करोड रुपैयाँ लाग्ने अनुमान छ।