धादिङ । धादिङमा निर्माणाधीन स्विचिङ स्टेसन सञ्चालनमा आएको छ । हुवासिन सिमेन्टलाई विद्युत् दिने स्विचिङ स्टेसन शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।
मर्स्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई शुक्रबार सञ्चालनमा ल्याइएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंका वेलामा विद्युत्को माग कम हुने मौका पारेर स्विचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए ।
तनहुँस्थित तल्लो मर्स्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रने (लुपइन) र बाहिरिने (लुपआउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुपइन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइनेछ । हुवासिन सिमेन्टले प्राधिकरणसमक्ष २० मेगावाट विद्युत् माग गरेको थियो ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गर्न गत वर्ष शुरु गरेको थियो ।