काठमाडौं। जाजरकोटमा निर्माणाधीन अवस्थामा रहेको जलाशययुक्त नलगाड आयोजनाको निर्माण कार्य डिपिआर तयार नहुँदा अलपत्र परेको छ। ४ सय १७ मेगावाट क्षमतामा निर्माण गरिने भनिएको सो आयोजनाको डिपिआर निर्माणको लागि ऊर्जा मन्त्रालयले परामर्शदाता कम्पनी स्मेकले भनेबमोजिम दुई पटक म्याद थप गरे पनि हालसम्म निर्माण हुनसकेको छैन ।
सन् २०१६ मा अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले ९संयुक्त उपक्रम०ले नलगाड आयोजनाको विस्तृत अध्ययन, टेन्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो । आयोजनाका कार्यकारी प्रमुख अनुसार सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र निर्माण कम्पनीबिच सम्झौता भएको थियो। उनले हालसम्म परियोजनाको कार्य ८५ प्रतिशत पूरा भएको दाबी गरेका छन्। अहिलेसम्म परियोजनाको कार्य तथा निर्माणस्थलमा सडक, क्याम्प, जग्गा मुआब्जा, आर्मी क्याम्प निर्माण कार्यसमेत गरी पाँच अर्ब रुपियाँ खर्च भइसकेको उनले जानकारी गराएका छन्।
कर्णाली प्रदेशको भविष्यसँग जोडिएको आयोजनाका रूपमा हेरिएको नलगाडको निर्माण कार्यको सुस्त गतिले गर्दा त्यहाँका स्थानीय निराश भएका छन्। त्यस्तै हालसमम यस आयोजनाको लगानीको टुङ्गो भने लाग्न सकेको छैन । सन् २०१२ को मूल्य एक अमेरिकी डलर बराबर ८७ रुपियाँ हुँदा आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रुपियाँ थियो ।
यस नलगाड जलविद्युत् निर्माण भएमा यसले कुल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्न सक्छ । यसमध्ये सुक्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट हुनेछ। त्यस्तै यहाँको नलगाड नगरपालिकाको दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिकाको अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल रहेको जनाइएको छ।