रसुवा। उत्तरी रसुवामा अवस्थित चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानाको अधिकांश संरचना निर्माण पूरा भइसकेको छ। ४२ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको सो आयोजनाले हाल ३ हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युत्गृह हसमेत निर्माण सम्पन्न गरिसकेको छ।
अहिले विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने काम पनि धमाधम अगाडि बढिरहेको आयोजनाले जानकारी गराएको छ। संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए तापनि विद्युत् गृहभित्र कामको जिम्मालिने डिइसी नामक चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम ढिलाई हुँदै गएको जनाइएको छ।
सो विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट रु १२ करोड ६३ लाख खर्च हुने लागत अनुमान गरिएको आयोजना प्रमुखले जानकारी दिएका छन्।यस्तै १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले पनि निर्माण गर्नुपर्ने ९८ प्रतिशत संरचना तयार पारी उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतीक्षा गरिरहेको छ ।
चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कूल ५७ दशमलव तीन मेगावाट विद्युत् उत्पादन हुने र सिम्बु तथा चिलिमे टारसमेतको दुई स्थानमा छुट्टाछुट्टै विद्युत्गृह निर्माण भइसकेका छन्।
पानीको प्रवाह निरन्तर जारी राख्न इभिडी भल्वअर्थात् एर्नजी डिसेपेटीङ राख्ने तयारी भइरहेको छ साथ सो उपकरण जर्मनमा निर्माण भएको र जलविद्युत्मा प्रयोगका लागि यो प्रविधि नेपालको पहिलो नमूना भएको आयोजनाले जनाएको छ। पेट्रोलिम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड रोगको सङ्क्रमण एवं पटक पटक आयोजना प्रमुखको फेरबदलजस्ता कारणले गर्दा तल्लो साञ्जेन जलविद्युत् आयोजाना निर्माणमा ढिलाइ भएको हो।