मोरङ। प्रदेश १ मा सडक र पुल निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ। प्रदेश १ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले निर्माण गरिरहेको ६६ वटा प्रादेशिक लोकमार्ग, सडक र रणनीतिक सडकको निर्माण सम्पन्न हुने बताए।
उनले यसै वर्ष थप १५ वटा सडकलाई प्रदेश लोकमार्गमा स्तरोन्नति गरेको घोषणा गरेका छन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशका १४ वटा जिल्लामा १०० वटा झोलुङ्गे पूल निर्माण गर्ने घोषणा गरेको छ। त्यसका लागि आगामी वर्षका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।
पहाडी र अति दुर्गम क्षेत्रमा १२ महिना नै यातायात सञ्चालन गर्न १० वटा बेलिब्रिज निर्माण गर्ने र त्यसका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट संसदमा प्रस्तुत गरेको छ। यसअघि गत वर्षको असार १ मा चालु आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको सरकारले आगामी आवका लागि करिब २१ प्रतिशत वृद्धि गरेर नयाँ बजेट बनाएको हो।