काठमाडौं। विद्युत्को नियमित आपूर्ति सहज बनेपछि मुलुकभर विद्युतीय चुल्होको प्रयोग बढ्न थालेको छ। आर्थिक वर्ष ७३/७४ मा नेपालमा ९६ लाख ७ हजार रुपैयाँ बराबरको दुई हजार ७७४ थान विद्युतीय चुल्हो आयात भएको थियो। हाल विद्युतीय चुल्होको प्रयोग अत्यधिक मात्रामा बढेकमे छ।
इन्डक्सन र इन्फ्रारेड गरी दुई खाले विद्युतीय खाना पकाउने चुल्होको आयात बढेको विभागको भनाइ रहेको छ। ५ वर्षअघि झण्डै २७ सयको संख्यामा आयात भएको यस्तो चुल्होको संख्या आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा एक लाख ५२ हजारभन्दा धेरै रहेको छ। तथ्याङ्कअनुसार पाँच वर्षमा विद्युतीय चुल्होको आयात ५५ गुणाले बढेको छ।
आर्थिक वर्ष ७३/७४ को तुलनामा झण्डै दोब्बरले आर्थिक वर्ष ७४/७५ मा विद्युतीय चुल्होको आयात बढेको देखिन्छ। सो आर्थिक वर्षमा १४ करोड ७८ लाख ८ हजार रुपैयाँ बराबरको ५ हजार ५९५ थान विद्युतीय चुल्हो आयात भएको थियो। आर्थिक वर्ष ७५/७६ मा ५९७ थान आयात भएको यस्ता चुल्हो त्यसको पछिल्लो वर्ष दुई करोड ४८ लाख ९८ हजार रुपैयाँ बराबरको १० हजार ४३५ थान नेपाल भित्रिएको थियो। यस्तै आ।व। ७७/७८ मा भने एक लाख ५२ हजार ५८८ थान विद्युतीय चुल्हो आयात भएको छ।
शहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगको असर ग्यासको बिक्रीमा देखिन थालेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। शहरमा ग्यास प्रयोगमा संकुचन आए पनि ग्रामीण क्षेत्रमा फैलिएको ग्यासको प्रयोग र खपतका कारण आयातमा भने कमी आएको छैन। खर्चका हिसाबले पनि ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो देखिएको छं।
त्यस्तै अध्ययनले ग्यासको तुलनामा विद्युतीय ऊर्जा प्रयोग गरेर खाना पकाउँदा ६० प्रतिशत सस्तो हुने देखाएको छ। नेपालको कुनै पनि शहर तथा गाउँ घरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा ५ जनाको परिवारलाई एक महिनामा ९ सय ९० रुपैयाँ मात्र खर्च लाग्नेछ।