काठमाडौं। एक करोड भन्दा बढी लागतमा काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ।करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैँचा बनाउन लागिएको हो।
सो बगैँचा निर्माण गर्न काठमाडौं महानगरपालिकाले रु एक करोड ३५ लाख बजेट विनियोजन गरेको वडा नं ३० का अध्यक्षले जानकारी दिएका छन त्यस्तै मन्दिर परिसरमा आकर्षक बगैँचा निर्माणसँगै रेलिङ, बार पनि परिवर्तन गरिने जनाइएको छ। उक्त बगैँचाको निर्माण कार्य सुरु गर्नका लागि गत आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेका तर सो रकमले निर्माण कार्य पुरा हुन नसक्ने भएको कारणले निर्माण कार्य स्थगित भएको थियो। विसं २०७४ भन्दा अगाडी सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो। तर त्यसबेला जनअपेक्षा अनुरुप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो।
उक्त मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी रहेको छ। बाँकी भएको सो जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको महानगरपालिकाले जनाएको छ। सो बगैँचाको डिजाइन बनाउने काम सम्पन्न गरी पूर्वाधार विभागले ठेक्का निकालेको छ। महानगरपालिका–९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ। वडा नं ९ को जग्गा खाली छ। वडा नं २९/३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइकेले बताएका छन्।
मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया सुरु गरेको हो। अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता रहेको छ। मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण सम्पन्न गरेको छ साथै पुजारी घर पनि निर्माण भइरहेको छ।
मन्दिर परिसरमा रहेको मयुरकुण्ड पनि संरक्षण गरी मयुर कुण्डभित्र रहेको नाग र नागिनीको मूर्ति पनि भक्तजनले दर्शन एवं पूजा आराधना गर्नसक्ने गरी व्यवस्थापनको तयारी भएको छ। त्यस्तैगरी गोरखास्थित मनकामना माइको दर्शन गरेर फर्कने भक्तजनले मयुरकुण्डको जल मैतीदेवीलाई चढाएपछि मात्र फल मिल्ने किम्बदन्ती पनि प्रचलनमा रहेको छ।