काठमाडौं। थाइल्याण्ड उडान खुलेसँगै दुई वायुसेवा कम्पनीले बैंकक–काठमाडौं नियमीत व्यवसायिक उडान गर्ने भएका छन्। थाइ स्माइल र थाइ एयर एसियाले काठमाडौं–बैंकक उडान गर्ने भएका हुन्।
यो रुटमा तीन महिना अघिदेखि नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ। दुई नयाँ वायुसेवा थपिएसँगै भाडादर सस्तिन सक्ने ट्राभल व्यवसायी बताउँछन्।
काठमाडौं–बैंकक नेवानिले साताको तीन उडान गरिरहेको छ। यो गन्तव्यमा निगमको मात्र उडान भएका कारण दुईतर्फी सुरुवाती भाडादर ७२ हजार रुपैयाँ छ। दुई साताभित्रै थाइ स्माइलको व्यवसायिक नियमित उडान सुरु भएसँगै यो भाडादर घट्दै जाने निगमको प्रक्षेपण छ। काठमाडौं र बैंककमा इन्धन शुल्कसँगै सञ्चालन खर्च बढेपछि हवाई भाडादर वृद्धि भएको निगमले जनाएको छ।
थाइल्याण्डको भगिनी कम्पनी थाइ स्माइलले आउँदो जुलाई १ बाट काठमाडौं–बैंकक उडान सुरु गर्ने भएको छ। नेपालका लागि आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल ट्राभलले उडानका लागि टिकट बुकिङ सुरु गरिसकेको छ।
योसँगै एयर एसियाको थाइल्याण्डस्थित साझेदार कम्पनी थाइ एयर एसियाले काठमाडौं उडानका लागि प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको स्रोतले जनाएको छ। बैंकक बेस भएर नेपालमा दुईतर्फी उडान गर्ने उसको योजना छ।