काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताएका छन्। धनगढी उमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको शनिबार विहान उद्घाटन गर्दै उनले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने बताएका हुन्।
‘गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग आउँदा खुशी लागेको छ’, उनले भने। मन्त्रिपरिषद्बाट निर्णय गरी आवश्यक ऐन, कार्यविधि बनाएर यसलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं।’ कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना बनेको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा अहिले धेरै विकास भइसकेको र अझ धेरै गर्न बाँकी रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो। ‘पहिले केही थिएन। म एसएलसी दिइसकेपछि डडेल्धुराबाट धनगढी आउँदा केही थिएन। गौरीफन्टा नाका हुँदै मैलानी–लखनऊ–रक्सौलसम्म रेल चढेर त्यसपछि बसमा काठमाण्डौं पुगेको हुँ’, उनले भने। ‘अहिले हरेक दिन हवाईजहाज चलिरहेको छ। धनगढीबाट सिधै काठमाण्डौं पुग्न सकिन्छ।’
प्रधानमन्त्री देउवाले सबैको सहकार्यमा मात्रै मुलुकमा विकासको काम सम्भव हुने उल्लेख गरे।
सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे। यसैगरी, महाकाली कोरीडोर, खुटिया–दिपायल र सेती लोकमार्ग गरेर तीन वटै फाष्ट ट्रयाकलाई पनि प्राथमिकता दिन आग्रह गरे।