तनहुँ। ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ। देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो।
गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो।मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो।
यसका लागि उनकै सक्रियतामा रु ३० लाख सङ्कलन भएको थियो। ‘गाउँको विकासका लागि केही गरौँ भन्ने भावनासहित विदेशमा रकम सङ्कलन अभियान चलाएको थिएँ, गाउँमा आन्तरिक पर्यटक भित्र्याउने मुख्य लक्ष्य हो’, उनले भने, ‘ग्रामीण पर्यटनको माध्यमबाट स्थानीयवासीको आयआर्जन वृद्धिका लागि पनि स्तम्भ सहयोगी हुनेछ।’