मोरङ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायीले पूर्वको विराटनगरमा प्रदर्शन गरेका छन्।
यातायात व्यवसायीले बिहानैदेखि कोसी लोकमार्ग अवरुद्ध पारेका छन्। नेपाल आयल निगमले पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ तथा ४ को राजवंशी चोक र दूध फारमनजिक सवारीसाधन तेर्स्याएर यातायात व्यवसायीले सडकमा अवरोध गरेका हुन्।
व्यवसायीको आन्दोलनका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। एम्बुलेन्स लगायत अति आवश्यकीय सवारीसाधनलाई पनि अवरोध गरिएको छ। सार्वजनिक सवारीका सञ्चालकले दुवै तर्फको सडकमा चक्काजाम गरेर सवारीसाधन सञ्चालनमा अवरोध गरेको प्रहरीले जनाएको छ। यातायात व्यवसायीले सरकारले गरेको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन्।
सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।
सवारीसाधनमा अवरोध गरिएको स्थानमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको। सुरक्षाकर्मीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेका छन्। त्यस क्रममा प्रहरीले ४ जना सवारी चालकलाई पनि नियन्त्रणमा लिएको छ।