पर्वत। दोविल्ला–घाँटीछिना–पामे सुरुङमार्ग अध्ययनका लागि स्वीकृत भएको छ। पर्वत र कास्कीलाई जोड्नेगरी निर्माण हुने सुरुङमार्ग अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई स्वीकृति दिएको हो।
पर्वतको कुश्मा नगरपालिका–८ दोविल्लादेखि कास्कीको पोखरा महानगरपालिकाको पामेसम्म सुरुङमार्ग निर्माण गर्नका लागि अध्ययन गर्न लागिएको छ। प्रस्तावित सुरुङमार्गले साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्ने बताइएको छ।
सुरुङमार्ग सम्भाव्यता अध्ययनको लागि मन्त्रालयले सडक विभागलाई स्वीकृति प्रदान गरेसँगै काम अघि बढ्ने भएको छ । जेठ २६ गतेको सचिव स्तरको बैठकको निर्णय अनुसार विभागलाई स्वीकृति प्रदान गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
सुरुङमार्ग आयोजनाको अध्ययन आगामी आर्थिक वर्षबाटै शुरू हुने भएको छ । छिमेकी जिल्ला बागलुङ निवासी मेघनाथ शर्माको पहलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गत चैत ६ गते उक्त सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न पत्र पठाएका थिए ।
सोही पत्रसहितको फाईललाई सचिवस्तरीय बैठकको निर्णयले स्वीकृति प्रदान गरेको हो।