तस्बिर : गाेरखापत्र
काठमाडौं। काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ।
घरधनीले लिने गरेको भाडा र कार्यालयले भुक्तानी गर्ने भाडाको रकममा अन्तर छ भने कार्यालय सहयोगीलाई तलब रोकेर राखिएको छ। उल्टै, कर्मचारीलाई खुवाएको चिया, खाजा, पानीलगायतको खर्चसमेत अहिलेसम्म भुक्तानी नदिएको गुनासो तल्लो तहका कर्मचारीको छ।
आयोजनाको सुरुदेखि नै सतुङ्गलस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयबाट सय मिटर पूर्वमा रहेको चोकसँगैको घरको पहिलो तलामा बाहिरी चक्रपथ विकास आयोजनाको साइड कार्यालय राखिएको छ तर उक्त कार्यालयबाट कुनै काम भएको छैन । तीन कोठाको कार्यालयबाहिर झुन्ड्याइएको बोर्ड धुजाधुजा भइसकेको छ भने अक्षर मुस्किलले मात्र पढ्न सकिन्छ।
यो समाचार रिपोर्टिङका क्रममा कार्यालय खोज्दै पुग्दा मंगलबार १२ बजे नै कार्यालयको ढोकामा ताल्चा झुन्डिएको थियो। आयोजनाको कार्यालय यति अप्ठयारो ठाउँमा छ कि दिउँसै मोबाइलको टर्च बालेर ढोकामा झुन्डिएको ताल्चाको फोटो खिच्नु परेको थियो।
घरधनी नारायणभक्त जोशीले १८ वर्षदेखि आफ्नो घरमा आयोजनाको कार्यालय रहेको जानकारी दिए। उनले भने, ‘कहिलेकाहीँ एक जना महिला आएर सफा गरेको देख्छु तर कोही पनि कर्मचारी आएर कार्यालय सञ्चालन गरेको देखेको छैन। पहिला एक दुई जना आएर कहिलेकाहीँ बस्नुहुन्थ्यो तर तीन चार महिनादेखि कोही पनि आएका छैनन्। उनले भने, ‘कोठा सँधै बन्द भएको देख्छु। मैले दुई तीन वर्ष अघिदेखि नै काम हुँदैन भने अफिस छोड्दिनुहोस्। मलाई किन बेकारमा पैसा तिर्नुहुन्छ ? भनेर काठमाडौं नै गएर हाकिमलाई तीन चार पटक नै भनेको छु तर केही सुनुवाइ भएन। जनताले तिरेको कर त्यतिकै खेर गइरहेको छ।’ आजको गोरखापत्रबाट