जनकपुरधाम। मधेश प्रदेश सरकारले मनसुनमा बाढीपहिरो तथा डुबानबाट हुन सक्ने सम्भावित जनधन क्षति न्यूनीकरणको तयारी सुरु गरेको छ।
प्रदेश गृह तथा संचार मन्त्रालयले तीनै सुरक्षा निकाय, स्थानीय प्रशासन, रेडक्रसलगायत सम्बन्धित निकायका प्रतिनिधिसँग बिहीबार पूर्व तयारीको विषयमा छलफल गरेको हो।
बाढीको उच्च जोखिममा रहेका नदी किनारका वस्ती, चुरे उजाड क्षेत्रको छेउछाउका वस्ती, गहिरो तथा सीमावर्ती क्षेत्रमा डुबानमा पर्ने जस्ता वस्तीलाई लक्षित गरी विपद न्यूनीकरण तथा उद्धारका लागि पूर्व तयारी स्वरुप छलफल गरेको बताइएको छ।
बैठकबाट मधेश प्रदेशमा कम्तीमा एउटा हेलिकप्टर २४ घण्टा तयारी अवस्थामा राख्नको लागि नेपाली सेनालाई सिफारिस गर्ने, प्रत्येक पालिकामा कम्तीमा एउटा हेलिप्याड अनिवार्य बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।
सकेसम्म सबै वडामा हेलिप्याड बनाउन प्रयास गर्ने, नभए कम्तीमा पालिकामा एउटा अनिवार्य बनाउने बताइएको छ। असार १७ गतेदेखि मनसुनजन्य विपद् उद्धारको लागि कमला नदीमा पूर्व अभ्यास गर्ने, जनचेतना फैलाउन विपद सम्बन्धी स्थानीय भाषामा अडियो तथा भिडियो सामग्री उत्पादन एवं प्रसारण गर्ने जस्ता निर्णय भएको बताइएको छ।