दार्चुला । महाकाली नगरपालिकाको चुनेभिरमा सडक भासिएपछि महाकाली लोकमार्गमा रहेको गोकुलेश्वर खलंगा सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त ठाउँमा सडक भासिएपछि साना सवारी साधन चले पनि सडकमाथिबाट ढुंगा माटो खस्दा पुर्ण रुपमा सडक अवरुद्ध भई आवतजावतमा समस्या भएको हो ।
दार्चुलाका डीएसपी मनोहरप्रसाद भट्टका अनुसार सडकमा पहिरोले बगाउँदा बस, ट्रकलगायतका ठूला सवारी साधानहरू सदरमुकाम खलंगाबाट बाहिर जान तथा भित्रिन सकिरहेका छैनन् । पहिरोले सडक साघुँरो बनाएपछि सुरुका दिनहरुमा साना सवारी साधनहरु चलेपनि सडकलाई बढाउन भीर काटेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।
भिर काटेर सडक संन्चालन गर्ने प्रयास भएपनि उक्त सडक रहेको भिर चट्टानि भुभागमा रहेको हुनाले भिर काट्न अझै समय लाग्ने देखिन्छ । भिर भत्काउने काम जिलेटिन अभाव भएपछि एउटा एस्क्काइभेटर मेसिनको ब्रेकर प्रयोगमा गरिएको छ । अहिले यात्रुहरुले सडक भासिएको ठाउँबाट पैदल यात्रा हिड्नु परेको छ ।
चुने भिरको सडक संन्चालन हुन अझै केही दिन लाग्ने भएकाले पैदल हिडेर पारी बाट सवारीसाधन बदल्दै यात्रा गर्नु पर्दा यात्रुमा समस्या भएको छ । मानिसको आवतजावतको लागी धेरै पटक काम रोकेर बस्नु परेको कारणले गर्दा झन ढिला भएको हो ।
खलंगा बजारका एक व्यापारिका अनुसार सडक अवरुद्ध भएपछि उक्त बजारमा खाद्यान्न , ग्यास लगाएतका दैनिक प्रयोग हुने समानहरु ल्याउन समस्या भएको र समान ल्याए पनि पहिरो खसेको ठाउँमा बोक्ने र उक्त ठाउँ पार गरि अर्को सवारिसाधन फेरेर ल्याउनु पर्ने हुदाँ समस्या भएको छ ।