गुल्मी। रेसुंगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार गाडी पार्कको रूपमा परिणत भएको छ।
कृषकले उत्पादन गरेका वस्तु सहज रूपमा बिक्री गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार नगरपालिकाका सवारीसाधन र विद्यालयको बस पार्किङमा परिणत भएको हो।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले एक करोड ३३ लाख लागत लागेर निर्माण भएको हाट बजार बन्द हुनु दुःखद भएको बताए। उनले तत्काल हाटबजार खुलाउन नगरपालिकाको ध्यान जानुपर्ने बताए।
हाटबजार निर्माणमा साबिकको जिल्ला कृषि विकास कार्यालयको १४ लाख, साबिकको जिल्ला विकास समितिको आठ लाख, जिल्ला पशुसेवा कार्यालय गुल्मीले १० लाख दिएका थिए। हाटबजार सञ्चालनमा आउँदा कृषक र उपभोक्तालाई सहज हुने र कोही पनि बिचौलियाको मारमा नपर्ने पाण्डेले बताए।
नगरपालिकाले आफ्ना कर्मचारीलाई खटाएर हाटबजार सञ्चालन गरेको थियो।रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफ्ना कर्मचारी खटाएर हाट बजार सञ्चालन गर्न नसकिने देखेर भाडामा दिने गरी तयारी गरेको बताए। कृषकले उत्पादन गरेका उपज सहज रूपमा बिक्री गर्न नगरले उचित प्रबन्ध गर्ने उनले बताए।
नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले हाटबजार वैशाख २६ गतेदेखि बन्द भएको जानकारी दिए। थाहाखबरबाट