काठमाडौं। आइतबारदेखि परेको अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको सबस्टेसन डुबानमा परेको छ। निर्माणाधीन चारसय केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनमा सुनसरी खोला नै पस्दा ठूलो क्षति पुगेको छ।
आगामी डिसेम्बर भित्र निर्माण सम्पन्न गरी संचालन गर्ने लक्ष्यका साथ दुवै सबस्टेसनको निर्माण कार्य भइरहेको थियो। बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाउनुका साथै जडानका लागि राखिएका उपकरणहरु पनि डुवाएको छ। बाढीको कारण कार्यालय भवनसमेत डुवानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिएका छन्।
हाल निर्माणाधीन सबस्टेसनभित्र सुनसरी खोला बगिरहेकोले सबस्टेसन तालमा परिणत भएको छ त्यसैले त्यहाँ जान सक्ने अवस्था छैन। हाल त्यहाँ कार्यरत रहेका कर्मचारी र श्रमिकहरुलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ।
४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको साथै ट्रान्सफर्मर,रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो। बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा धेरै क्षति पुगेको छ।