काठमाडौं। निर्माणाधिन झोलुङ्गेपुलले पर्यटकीय आकर्षण बढ्दै गएको छ। अपिनाम्पा संरक्षण क्षेत्रको कालागाड खोलामाथि निर्माणाधीन बहुउद्देश्यीय झोलुङ्गेपुलमा पर्यटकीय आकर्षण बढ्दै गएको हो।
दुहुँ गाउँपालिका केन्द्रनजिकै रहेको झोलुङ्गेपुलले खर्रा र चल्लेगाडालाई जोड्नेछ। ३७२ मिटर लम्बाइको सो पुल १९० मिटर उचाइमा छ। अग्लो र लामो पुल भएकाले चिसो हावा लाग्ने गर्छ। सोही कारणले समेत स्थानीयका लागि झोलुङ्गेपुल आकर्षणको केन्द्र बनेको छ।
दार्चुलाकै सानो तर पर्यटकीय हिसाबले महत्त्वपूर्ण दुहुँ गाउँपालिकामा साहसिक पर्यटक भित्र्याउने योजना गाउँपालिकाको छ। सो पुलमा बन्जीजम्पसमेत जडान गर्ने योजना छ। दार्चुला सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टा गाडी यात्रापछि यो पुलमा पुग्न सकिने छ।
दुुहुँ गाउँपालिकाका अनुसार पुल निर्माण सकिएको छैन तर पर्यटकको आकर्षण बढ्दै गएको छ। समयमै पुल निर्माण सम्पन्न गराउन पालिकाको पहल जारी रहेको बताइएको छ। सो क्षेत्रको पर्यटन विकासका लागि पुल क्षेत्र हुँदै पदमार्गको निर्माण र बन्जीजम्पको सुविधा राख्ने पालिकाको योजना छ।
उक्त पुलको करिब १० प्रतिशत काम अझै बाँकी छ। निर्माण व्यवसायी सम्पर्कमा नआएका कारण पुलको भार परीक्षणसमेत हुन सकेको छैन। ठेकेदारको ५० लाख बढी धरौटी समेत गाउँपालिकामै रहेकाले ठेकेदारलाई सम्पर्कमा ल्याएर बाँकी काम पूरा गराउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।
नेपाल सरकार र दुहुँ गाउँपालिकाको आर्थिक सहयोग र ट्राइल ब्रिज युनिट काठमाडौँ, हेल्बटास नेपाल तथा समाज कल्याण समाजको प्राविधिक सहयोगमा बहुउद्देश्यीय झोलुङ्गेपुल निर्माण गरिएको हो। गाउँपालिकामार्फत दुई करोड १७ लाख लगानी र अन्य सम्पूर्ण प्राविधिक सहयोग हेल्बटास तथा समाज कल्याण समाजको छ।