काठमाडौं। पाल्पा जिल्लाको पूर्वी भेगस्थित निस्दी–६, अर्चलेमा पहिलो पटक बिजुलीबत्ती पुगेको छ। सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको डेढ दशकपछि अर्चलेको रनगुवा गाउँमा पहिलो पटक बिजुलीबत्ती पुगेको हो।
अन्य गाउँमा बिजुली बत्ती बले पनि यहाँ भने बत्ती नहुँदा स्थानीय बासिन्दा वरपरको बिजुलीबत्ती हेरेर चित्त बुझाउन बाध्य थिए। विद्युतीकरणको योजना पूरा भएपछि रनगुवाको ३७ घरपरिवारले पहिलो पटक बिजुलीबत्ती बाल्न पाएको निस्दी गाउँपालिकाले जनाएको छ।
बिजुली बत्ती आएपछि विद्यार्थीहरूलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्नका लागि सहज भएको छ। यसअघि उक्त गाउँका बासिन्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो अब टुकी बाल्न नपर्ने बताइएको छ। गाउँमै बिजुली आएपछि मोबाइल चार्ज, बत्ती चार्ज गर्न अरुको गाउँमा जानु नपर्ने स्थानीयले बताए।