काठमाडौं। उदयपुरमा बुधबार सुनकोशीले बगाएर दुई बालिका बेपत्ता भएका छन्।
त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएका हुन्।
सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई खोलाले बगाएको हो।
बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ।
परिवार, गाउँले र प्रहरीले खोजीकार्य गरे पनि साँझ अबेरसम्म फेला परेका छैनन्। राति भएको भन्दै उद्धार टोलीले अब बिहीबार मात्र खोजी गर्ने बताएको छ।