काठमाडौं। सुर्खेत डोल्पाको ठुलिभेरी नगरपाालिका–३ का २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन्। सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन्।
ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूर्ण रूपमा क्षति पुर्याएको छ। धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतिलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ।
यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरीले जनाएको छ। २४ जनाको घर खेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी करिब एक करोड ५० लाख बराबरको क्षति भएको बताइएको छ।
भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ। यसअघि बनाइएका संरचना दिगो नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन्।