काठमाडौं। पहिरो खसेपछि डुम्रे–बेँसीशहर सडक अवरुद्ध बनेको छ।गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा बेँसीशहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा सडक अवरुद्ध बनेको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले सडकखण्डको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको जानकारी दिए।
गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीशहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक बाढी पहिराले अवरुद्ध बनाउँदै आएको छ ।
सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीशहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए । पहिरोले बेँसीशहर–चामे सडकसमेत अवरुद्ध भएको छ । गए रातिको वर्षाले बेँसीशहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खस्दा उक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन ।
सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीशहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन् ।