काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइट पुग्ने सडक निर्माणका लागि समन्वय भइरहेको बताएका छन्। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसँगको भेटमा मेयर साहले सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका हुन्।
प्रतिनिधिहरूले बर्खामा हुने सडक समस्याको प्रसंग उठाएपछि मेयर साहले निर्माण हुन बाँकी रहेको सडकखण्ड चाँडै बनाउन आफूले समन्वय गरिरहेको बताए। उनले काठमाडौंका सडकमा भएको सबै फोहोर उठाउन लाग्ने समयबारे पनि जानकारी लिएका छन्। प्रतिनिधिहरूले पूर्णक्षमतामा ढुवानी गर्न पाए तीन दिनभित्र फोहोर उठाइसक्ने मेयर साहसमक्ष बताएका छन्।
फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान)का महासचिव मित्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोर वर्गीकरण गर्ने महानगरको योजना प्रभावकारी रहेको बताए। महानगरको नीति र कार्यक्रमअनुसार आफूहरूले जिम्मेवारी पूरा गर्ने उनीहरूको भनाइ छ।
छलफलका क्रममा फोहोर ढुवानी गर्ने सवारीसाधनबाट लिच्चड चुहिने समस्या समाधान गर्ने विषय पनि उठेको थियो। फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायतको पनि उक्त बैठकमा उपस्थिति थियो।