कञ्चनपुर । बाढीले भीमदत्त नगरपालिका– १२ ऐरी ओदालीस्थित तीन सय मिटर कालोपत्रे सडक भत्काएको छ । निर्माण कम्पनीले तटबन्धविनै सडक निर्माण गर्दा महाकाली नदीले सडकको कालोपत्रे भत्काएको हो ।
तीन दिन लगातार वर्षा भएपछि महाकाली नदीमा आएको बाढीले तटबन्धविनै निर्माण भएको पक्की सडक भत्काएर गाउँ पस्ने खतरा बढेको छ ।
महाकाली पुल निर्माण कम्पनीको लापरबाहीको कारण जनताले विपद्को सामना गर्नुपर्ने बाध्यता सिर्जना भएको स्थानीयको गुनासो छ । तटीय क्षेत्रका स्थानीयले पहुँच मार्गको दायाँबायाँ सुरक्षित योजना नल्याएको, छेउबाटै मापदण्डविपरीत उत्खनन् गरेको र पक्की सडकमा माटो राख्नुपर्ने ठाउँमा बालुवा ग्राभिलिङ राखेका कारण पक्की सडक भत्किएको बताएका छन् ।
ठेकेदारले चार लेन सडक निर्माणमा माटो राख्नुपर्ने भए पनि बालुवा ग्राभिलिङ राखेर बनाएकाले पक्की सडक भत्किएको केही स्थानीयको गुनासो छ । ठेकेदारले नदीछेउमै मापदण्डविपरीत ग्राभिलिङ संकलन गर्दासमेत पुल निर्माण स्थलको उत्तरमा तीव्र कटानी भइरहेको छ ।