पर्वत। पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ। देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो।
महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ। सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ।
सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको महानगरले जनाएको छ।
सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचान युक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ।