काठमाण्डौं। कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ। वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि सिक्टा सिँचाइको पानी पेडारीगाउँमा पुगेको हो।
दुई दिन लगाएर करिब पाँच सय मिटर कुलो खनेपछि गाउँमा पानी ल्याउन सफल भएको बताइएको छ। “सिक्टा सिँचाइको नहरबाट गाउँसम्म पानी आउने कुलो बनेको थिएन, आकाशे पानी पर्खदा धानखेती सुक्न थालेपछि कुलो खन्न जुटेका हौँ”,वडाध्यक्ष थारुले भने ,“कुलो खन्ने बजेट नभएका कारण श्रमदानबाटै कुलो खन्नका लागि अगुवाइ गरेँ र पेडारीवासीले साथ पनि दिए।”
वर्षा नभएका कारण गाउँमा रोपाइँ हुनसकेको छैन भने भएको रोपाइँ पनि सुक्न थालेको छ। श्रमदानबाट निर्माण गरिएको कुलोबाट आएको पानीले पेडारी गाउँको उत्तर–पश्चिम क्षेत्रको करिब दुईसय बिघा जमिनमा सिँचाइ पुग्ने भएको छ।
श्रमदानबाट कुलो खनेर गाउँमा पानी पुगेपछि पेडारी गाउँका किसानलाई खेतमा बाली लगाउन अब आकाशको भर पन नपरेको स्थानीयवासीले बताए। बाँकेमा लामो समयसम्म पानी नपर्दा ६० प्रतिशत खेत अझै बाझै छन्। पानी पर्ने आशमा जेनतेन रोपाइँ गरेका किसान पनि लामो समयसम्म पानी नपर्दा समस्यामा परेको बताउँछन्।
यो पनिः
पहिरो र सडकले क्षति पुर्याएको सिँचाइ नहर पुनःनिर्माण