काठमाडौं। सर्लाही सदरमुकाम मलङ्गवामा सडक विस्तारको काम पुनः रोकिएको छ। मलङ्गवामा जिविस चोकदेखि बजार क्षेत्र हुँदै पूर्व–पश्चिम हुलाकी राजमार्गसम्मको एक किलोमिटर सात सय मिटर सडक विस्तारको काम रोकिएको हो।
मलङ्गवा नगरपालिकाका अनुसार जिविस चोकदेखि कृष्णामति माध्यमिक विद्यालयसम्मको सडक विस्तार भइसकेको छ।
सो विद्यालयदेखि हुलाकी राजमार्गसम्मको करिब चार सय मिटर सडक निर्माण कार्य भने अघि बढ्न नसकेको नगरपालिकाले जनाएको छ। स्थानीय तह निर्वाचनलगायतका कारण सडक विस्तारको काम रोकिएको भए पनि अब पुनः ठेकेदारसँग समन्वय गरी अवरुद्ध कामअघि बढाइने नगरपालिका कार्यालयले जनाएको छ।
कृष्णामति विद्यालयदेखि दक्षिणतर्फ घर तथा अन्य संरचनाहरू भत्काउन नसकेका कारण पनि सडक विस्तारको कामअघि बढ्न नसकेको बताइएको छ। सदरमुकाम भए पनि मलङ्गवाको सडक व्यवस्थित हुन सकेको छैन। सडक निर्माण भइसकेको स्थानमा व्यवस्थित नाला नभएको गुनासो आउने गरेको छ।
सडक विस्तार भइसकेको जिविस चोकदेखि कृष्णामति विद्यालयसम्मको सडक भने फराकिलो पारिएपछि सो क्षेत्रमा आउजाउ गर्न र सवारीसाधन सञ्चालनमा सहज भएको छ।
यो पनिः
सडक निर्माणमा नगरपालिकाका सब इन्जियर साझेदार, १३ दिनमै उप्कियो कालोपत्रे