पर्वत। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको ट्र्याकओपन भएको छ। यस अघि सो खण्डको स्तरोन्नतिको जिम्मा लिएको सूर्य कन्सट्रक्सनको लापरवाहीका कारण कामले गति लिन सकेको थिएन।

नौ करोड १७ लाख ४९ हजारको लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक पहिल्यै खुलेको हो। मोदीवेणीबाट अर्मादीको खण्ड हालै सञ्चालनमा आएको छ।
चौध किमी सडकखण्डका लागि कार्यालयले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ असारमा सूर्य कन्सट्रक्सनसँग सम्झौता गरेको थियो। अहिले याे खण्डकाे काम सकिसकेकाे छ।
कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मको ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्रे गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन् । उक्त खण्डको मिर्मीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रेका लागि काम भइरहेको छ । सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रे पनि धमाधम भइरहेको छ ।